डी. विनोद
दशैं सकिएपछि गुलियो पर्व तिहारको स्वागत गर्न तल्लिन छन्, नेपालीहरु । मिठो खाने बाहनाका लागि तिहार उपयुक्त चाड हो । मासुको स्वाद जिव्रोबाट नसकिँदै गुलियो स्वादका लागि अपेक्षामा बसेका नेपालीहरुले अव मिठाइका फरक–फरक स्वादलाई लिन थालेका छन् । भारतका विभिन्न राज्यहरुबाट आयातित मिठाइका परिकार अव काठमाडौं लगायतका ठाउँमा पनि बन्न थालेका छन् । मिठाइको स्वादमा रमाउने पारखीहरुले ‘डाइबेटिज’को पनि ख्याल गर्न छाडेका छन् । यस्तै मिठाई पारखी कविर गौतम भन्छन्–‘साताको एक पटक फरक प्रकारका मिठाइ लिएन भने मजा आउँदैन । मिठाई त मेरो सौख हो ।’
पाहुनाको स्वागत होस वा पाहुना भएर आफन्तकामा जाँदा होस् । बृद्धहरु भएको घरमा पुग्नेहरुको हातमा मिठाईका बट्टा भएनन् भने नौलो हुन थालेको छ । सहरीय जीवनशैलीमा अव मिठाई अनिवार्य ‘भेटी’ भएको छ । गुलियो पदार्थबाट काम सुरु गर्दा दिन पनि रमाइलो हुने मिठाइका पारखीहरुको भनाई छ । तर, मिठो खाने बाहनालाई अनेक उखानतुक्का बनाइनु स्वभाविक हो । मिठाइपसलतिर आँखा डुलाएर मुखमा पानी रसाउनेहरु पनि निक्कै कमैमात्र भेटिन्छन्, आजभोली । राम्रो लगाउने र मिठो खाने सहरी अनिवार्यतामा रुमल्लिएका ललितपुरका सन्तोष दाहाल भन्छन्–‘मिठाइका अनेक प्रकारमा रमाउनुपर्दछ ।’ मिठाइका अनेक प्रकारहरु छन् । भारतीय संस्कृतिसँग जोडिएको नेपाली समाजमा कम्तिमा दुई सय प्रकारका मिठाईहरु सामान्यतया चलेका छन् । तर, नियमित रुपमा नेपाली बजारमा कम्तिमा ८० प्रकारका मिठाइहरु विक्रि हुने गरेका छन् । काठमाडौंमा तीनवटा नामी मिठाई निर्माता प्रालि छन् । दमकमा प्रधान कार्यालय रहेको संगम स्वीटले वानेश्वर र कमलादीमा आफ्नो मिठाईका परिकार विक्रिमा राखेको छ । त्यस्तै आँगन र रामेश्वरबाट पनि उपत्यकाका घराना, उद्योग, व्यापारिक प्रतिष्ठान, राजनीतिक दलका विशेष कार्यक्रम तथा सरकारी निकायमा मिठाई पठाउँछन् । संगम स्वीटका सह–प्रोपाइटर सुमन चौंलागाइका अनुसार नेपाली बजारमा मिठाइका परिकारहरुको माग बढ्ृेको छ । चाडपर्व, वैवाहिक कार्यक्रम, विभिन्न प्रतिष्ठानका उत्सव, जन्मदिन तथा भोजमा मिठाईका परिकारको अर्डर आउने गरेको छ ।
तहअनुसारका समाजमा मिठाईका परिकारका भिन्न तवरले माग बढिरहेको छ । फरक प्रकारका मिठाइको स्वाद लिइएन भने त्यो उच्चतम नहुने समाजको विकाससँगै यसको व्यापार पिन गतिलिँदै गएको छ । घरमा होस वा आफ्ना कार्यालयका उत्सवमा सदाबहार रुपमा जेरीको माग छ । त्यसबाहेक रसभरी, लालमन, काला जामुनको मागमा पनि कुनै गिरावट आएको छैन । साना ठूला मिठाइपसलहरु गज्जवले चलेकै छन् । तर, शुद्ध र राम्रो मिठाइको लालसा हरेक पारखीलाई हुने गरेको छ । ‘जेरीको माग ज्यादातर छ । अनेक प्रकारका मिठाइहरुको मागपनि हुने गरेको छ । राम्रो र शुद्ध मिठाई बनाएर सेवा प्रदान गर्दा माग बढ्नु स्वभाविक हो ।’ दिल्लिको लाजपतनगरस्थित हल्दिराम मिठाईमा काम गरी नेपाल फर्किएका उदयकुमार यादवले भने,‘अहिले काठमाडौंमा पनि मिठाई पारखी बढेको मैले पाएको छु ।
नजिकीएको तिहारकै लागि अहिलेदेखि नै ‘दिवाली मिक्स’ मिठाइको माग बढेको छ । त्यसबाहेक मिक्स मिठाईको मागपनि उच्च छ । कराँची (पाकिस्तानी) हलुवा मन पराउने घरानाहरुपनि बढिरहेका छन् । गाँजरको हलुवा लोकप्रिय बनिरहेको छ । सौखिन घराना बढिरहेका कारण मिठाइको व्यापार पनि राम्रो हुँदै गइरहेको छ । स्वादे जिव्रोका लागि फरक ‘टेस्ट’का मिठाईहरु दिनसक्दामात्र पारखीहरु खुसी हुन्छन् । घरेलु मिठाइदेखि अन्र्राष्ट्रियबजारमा लोकप्रियता कमाएका मिठाईसम्म बनाउने काममा आफु सक्रिय भएको यादवले बताए । भन्छन्–‘भारतमा जति बन्दैन तर जति यहाँ बनेका छन्, काठमाडौंका लागि पर्याप्त छन् ।’
..................................................................................................................................................................
अहिले धेरै चलेका मिठाइहरु मुल्य (प्रति केजी रुपैंयामा)
संगम वाइट्स १,३०० ।
काजु बर्फी १,०५० ।
काला कर्न ७५० ।
बालु शाही ६०० ।
पेडा ७०० ।
लड्डु ६ देखि ७०० ।
काजु पान टोकरी १,२०० ।
मिक्स प्याकेज (काजु बाहेक) ७०० ।
पिसमा विक्रि हुने केही मिठाइहरु मुल्य (प्रति पिस रुपियाँमा)
रसभरी २३ ।
ललमन २५ ।
रसमलाई ४० ।
.................................................................................................................................................................
के मिसाइन्छ मिठाईमा ?
तयार गरिने सवै मिठाइमा काजु, बदाम र पिस्ता मिसाइन्छ । यी तीन चिजविना मिठाई पूर्ण नहुने मिठाई एक्सपर्ट यादवले जानकारी दिए । ‘तीन चीजविना कुनैपनि मिठाई बन्न मुस्किल छन् । खास मिठाइका लागि यी तीनचिज सहित शुद्ध देशी घिउको आवश्यकता पर्दछ ।’ ज्यादातर मिठाइका प्रकार बाहेकका केही बेसन, चिनि र दुधबाटमात्र पनि बन्ने गरेको उनी बताउँछन् । खुवा, पेडा, रसभरी, कालाजामुन, लालमन, जेरी बाहेक स्पेसल मिठाईका लागि काजु, बदाम र पिस्ता अनिवार्य हो । ‘कमैमात्र मिठाइहरु सरल हिसावले बनाउन सकिन्छन् नत्र अन्य सामान जुटाउन कठिनै हुन्छ ।’ उनले भने,‘साधारणतया घरमा जेरी, लालमन, रसभरी र काला जामुन बनाउन सकिन्छ ।’
बालुशाही ः मैदा र दालको पिठो मिसाएर त्यसमा काजु, बदाम र पिस्ताको पेष्टपनि मिसाइन्छ ।
काजु वर्फी ः काजुपेष्ट र त्यसमा चिनी मिसाएर बनाइन्छ ।
पेडा ः दुधको खुवा, काजु र पिस्ता मिसाएर बनाइन्छ ।
लड्डु ः वेसनको पेष्टलाई घिउमा तारेर बनाइन्छ ।
कराँची हलुवा ः काजुलाई धोएर २ घन्टा सुकाएपछि पिसिन्छ, पिसेको पेष्टलाई सुख्खा बनाएर हल्का भुटीन्छ । चिनीको पाउडर राखेर बेलनामा बेलिन्छ र पिस बनाएर काटीन्छ ।
मिठाइका पारखी केही संस्थाहरु
चडपर्व, वार्षिक उत्सव, विशेष कार्यक्रमहरुमा ज्यादातर विभिन्न प्रतिष्ठानहरुले मिठाइलाई स्वागत खानाको रुपमा बढावा दिएका छन् । पाँचतारे होटल, बैंकहरु र मन्त्रालयसम्मपनि मिठाइका माग बढेका छन् । कर्मचारीको बढुवा, बोनस, उत्सव, विशेष कार्यक्रममा यसरी नियमित रुपमा मिठाइका माग हुने गरेको संगम स्वीट्सका सह–प्रोप्राइटर चौंलागाइले बताए ।
नेपाल राष्ट्र बैंक, वाणिज्य मन्त्रालय, पेप्सीकोला, अन्नपूर्ण होटल, होटल याक एण्ड यती, स्टान्डर्ड चार्टड बैंक, एसबीआई बैंक, हिमालय बैंक, नेपाल बांगलादेश बैंक, ज्योति बैंक, ज्योति ग्रुप अफ इण्डस्ट्रीज, एनसीएल मोवाइल डिलर मिठाइका नियमित उपभोक्ता कम्पनीहरु हुन् । त्यसबाहेक फिल्मि क्षेत्रसँग आवद्ध कार्यक्रम, नेपाल प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय सभा गृहमा हुने कार्यक्रममा पनि मिठाइको प्रयोग बढाइएको छ । ठूला घरानाहरु, अन्य मन्त्रालयहरुमा पनि मिठाइको माग हुने गरेको छ ।