Thursday, June 13, 2013

‘बेरोजगार अध्यक्षलाई नचिन्दा गाली गरियो, पछि सम्झेर हाँस्दा झन्डै मरियो’

मेरो एकजना हितौषी पत्रकार साथी छन् । उनी एउटा ब्रोड सिट दैनिकका ‘सेकेन्ड म्यान’ पनि हुन् । र, एउटा चर्चित साप्ताहिकका नियमित स्तम्भकार पनि । पुर्व तिर घर भएका ती साथीले नाम उल्लेख नगर्ने सर्तमा बेरोजगार युवा संघका अध्यक्ष चन्द्रबहादुर थापासँग भएको एउटा भेटको रमाइलो प्रसङ्ग सुनाएका छन् । एकीकृत माओवादीका पुर्व सभासद, वाइसीएलका तत्कालिन उपत्यका प्रमुख थापा र बेरोजगार युवा संघका अध्यक्ष थापाको परिचय एउटै हो भन्ने थाहा नपाउँदा त्यो दिन के सम्म भएन ? त्यो उनले मलाई सुनाए, हामी चाँही मरी मरी हास्यौं । भन्दै थिए, ‘अरे प्रकाशजी, वाइसीएलको सागर र बेरोजगार सागर एउटै ब्यक्ति  हो भन्ने चिनिएन तर त्यो भेटमा मैले उनलाई  र माओवादीलाई गाली गरेर पो आए, के सोच्यो होला उसले ?’ मेरा साथीको कुरा सुनेर हामी यति हाँस्यौ कि सायद अब त्यसरी हाँसिदैन होला ।
यो अघिल्लो भदौंको कुरा हुनुपर्छ । मेरा ती मित्र (नाम उल्लेख नगरिदिनु भन्नु भएकाले नाम हालिएको छैन, घटना मात्रै हाल्ने कोशिश गरेको छु ) बेरोजगार अध्यक्ष चन्द्रबहादुरलाई भेटे पछि सिद्यै नागरिक दैनिकमा आएका थिए ।  चिया खान जाने क्रममा उनले मलाई सोधे,
‘प्रकाशजी, तपाई चन्द्रबहादुर थापालाई चिन्नु हुन्छ ?’
‘चिन्दछु, किन नचिन्नु ?’ मैले जवाफमा भने ।
‘आज मलाई चन्द्रबहादुर थापाको कुराले निकै रिंगाईरहेको छ, कता-कता त्यो मान्छे देखे जस्तो त लाग्छ तर ठम्याउन सकिरहेको छुईन् ।’
‘किन के भयो र ?’
‘आज बेरोजगार युवा संघको अध्यक्ष कहाँ रिर्पोटिङ गर्न गएको थिए, कुरा त निकै बेर गरियो तर उनलाई भेटेर आए पछि मलाई निकै ‘डाउड’ लागिरहेको छ ।’
‘उनी त वाइसीएलका उपत्यका संयोजक हुन, अहिले बेरोजगार युवा संघका संयोजक भएर बसेका छन् ।’
उनी आत्तिए अनि बोले, ‘अरे, यार त्यसो भए त आज बबार्दै नै भयो ?’
‘के भयो, सर ?’ मैले भने ।
‘बबार्द भो यार’ उनी भन्दै थिए तर उनको अनुहारमा एकाएक चमक हरायो,
र आत्तिएका जस्तो पो देखिन पुगे ।
पछि कुरा बुझ्दा थाहा भयो । रोजगार संवन्धी रिर्पोटिङ गर्ने मेरा ती साथी बेरोजगार संघका अध्यक्षको अन्तवार्ता लिने उदेश्यले गएका रहेछन् । तर, वाइसीएलका चन्द्रवहादुर  र बेरोजगार अध्यक्ष चन्द्रवहादुर एकै ब्यक्ति हो भन्ने थाहा पाएनछन् । त्यो दिन उनले भक्कुमार बेरोजगार संघ अध्यक्ष चन्द्रवहादुर र माओवादीलाई गाली गरेर आएका रहेछन,
अहिले मैले उनको बास्तबिक परिचय दिए पछि चकित भएका छन् । 

****************************************************************************
अब उनको कुरा सुनौं । 
मेरा साथीले रिर्पोटिङका लागि बेरोजगारका अध्यक्ष चन्द्रवहादुरसँग समय मागेछन् । चलेकै साप्ताहिकमा ‘इन्टरभ्यू’ जाने भयो भनेर भोलीपल्ट चन्द्रवहादुरले नै फोन गरेर मेरा साथीलाई कार्यालयमा बोलाएछन् ।
‘मेरो त कुनै साधान छैन, बिस्तारै आउँछु नी’ भन्दै जवाफ फर्काए ।
‘तपाई कहाँ हुनुहुन्छ, म त्यही तपाईलाई लिन मेरा मान्छे पठाइदिन्छु’ चन्द्रवहादुरले भने । त्यसपछि आफु अनामनगरमा रहेको जानकारी साथीले दिए । बिस्तारै आउँछु भन्दा पनि मान्छे पठाउँछु भन्ने कुरा अध्यक्षले भने पछि मेरा साथीले सोचेछन, ‘एउटा बेरोजगारले पत्रिकामा ‘स्पेश’ खोज्यो, गई दिऊ न त !’ कुरेर बसेछन् । उनको बिचार गर्मी छ, कुनै सवारी साधान नभएकाले जाने सोच थिएन, गए पनि अलि साँझ साँझ तिर जाउँला भन्ने थियो । तर एकछिन मै हुरर.... मोटरसाइकल आयो ।
उनलाई लिन आउने बेरोजगार त ‘आर फिप्टिन’ मोटर बाइक चढेर पो आउँछ । एकछिन त उनी पनि छक्क परे । त्यो मोटरसाइकलवालाले मेरा साथीलाई थापाथलीस्थित बेरोजगार युवा संघको कार्यालयमा पुयाए । मेरो साथीलाई लागेको थियो रे, बेरोजगार संघको कार्यालय भने पछि एउटा सानो र अध्याँरो कोठा होला, बढीमा चार पाँच हजार रुपैया मासिक तिरेका होलान् ।
तर, बेराजगार संघको कार्यालय हेर्दा त कर्पोरेट हाउसको जस्तो छ, फेरी उनी छक्क परे । ‘बेरोजगारको नाममा धन्दा गर्ने मान्छे पो रहेछ, आज यसलाई दरहो दिनुपर्छ’ भन्ने मन मनै सोचे छन् । बेरोजगारको अध्यक्षसँग हात मिलाए र भने, ‘अध्यक्षज्यू, तपाई त बेरोजगार युवाहरुको संस्था भन्नु हुन्थ्यो, कार्यालय त भब्य देखिन्छ छ नी, त्यो पनि थापाथली चौक मै ।’
अध्यक्ष चन्द्रवहादुरले भनेछन, ‘हुन त यो ठाउँ अनुसार कार्यालयको मासिक भाडा चाँही डेढ लाख जति पर्ने हो, तर मेरो चीनजानको साथी भएकाले हामीलाई १५ हजार मासिक मै दिएको छ  ।’ कार्यालयमा राखिएका सोफा, टेबुल र कुर्सीहरु देख्दा भने अझै पनि चित्त वुझाउन सकेनन । मेरो साथीलाई चित्त नवुझे पनि मुन्टो चाँही हल्लाई दिए ।
चन्द्रवहादुरले पाहुना ‘पत्रकार’को इज्जत गर्दै ‘मिल्क कफी’ मगाए । एउटा केटो ‘हुन्छ सर’ भन्दै ढोकामा देखा परयो । अध्यक्षको अन्तवार्ता लिन आएका पत्रकारलाई हेर्न ढोकामा "बेरोजगार केटा"हरु झुम्मिए ।
जब मेरा साथीले ढोकामा उभिने जतिलाई हेरे अनि अर्को पटक छक्क खाए । बेरोजगार अध्यक्षका ‘केटा’हरु हेर्दा पनि सबै खाईलाग्दा, ज्यान भएका छन, दुब्ला र खान नपाएका जस्ता त कोही पनि छैनन् । उनी थप अचम्मित भए तर केही बोलेनन, मन मै राखे ।
अध्यक्ष चन्द्रबहादुरले कुरा सुरु गरे र मेरा साथीले डायरीमा टिप्न सुरु गरे ।
‘बेरोजगार युवा संघ किन बनाउनु भयो ?’ साथीले पहिलो औपचारिक प्रश्न गरे ।
‘देशमा बेरोजगारहरुको संख्या धेरै छ तर कुनै पार्टीले त्यसलाई सम्वोधन गर्न सकेन, त्यसैले हामीले बेरोजगार युवा संघ खोलेका हौ... आदी इत्यादी ।’
‘यसको उदेश्य के हो ?’ दोस्रो प्रश्न गरे, मेरा साथीले ।
‘सबैलाई रोजगार दिलाउने र स्वदेशमा केही गर्ने बातावरण बनाउने र रोजगारीका लागि बिदेश जानु नपर्ने अवस्था सिर्जना गर्नका लागि राजनीतिक दललाई दबाब दिन कार्यक्रम बनाउने... आदी इत्यादी’ अध्यक्ष चन्द्रवहादुरले प्रस्टीकरण दिदै गए । बेला बेलामा चन्द्रवहादुर उत्साहित हुदँ पत्रकार सामु प्रस्तुत भए ।
(चन्द्रवहादुर लाई लाग्यो, मेरो कुरालाई पत्रकारले राम्रै स्थान दिन्छ भन्ने पनि, 
त्यसैले चन्द्रवहादुर उत्साहित देखिए ।)
‘माओवादीले पनि यही भन्यो, सारा बेरोजगारलाई भेला गरयो, १० बर्ष युद्धमा लडायो र मारयो, कतै तपाईहरु पनि माओवादीको सिको त गरिरहनु भएको त छैन ?’ मेरा साथीले तेस्रो प्रश्न गरे ।
(मेरो साथीलाई यो पनि थाहा भएन कि उनी माओवादीका पुर्व सभासद हुन भन्ने, उनी चुनाव जितेर संविधानसभामा प्रतिनिधित्व गरेका थिए भन्ने पनि )
चन्द्रबहादुरले उत्तर दिन सुरु गरे, ‘हामी कुनै पार्टीका भातृ संस्था होइन, हाम्रो संगठन भनेको विशुद्ध बेरोजगारहरुको संगठन हो, बेरोजगारको पक्षमा उभिने उदेश्यले यो संगठन बनाएका हौं ।’ चन्द्रवहादुर भने उत्साहित हुदैँ बेरोजगार संघको बारेमा यस्तो र उस्तो भन्दै "गफ" दिन सुरु गरे, मेरा साथीले टिप्दै गयो ।
‘तर तपाईको पारा त माओवादीको जस्तै छ, बेरोजगारको नाममा राजनीति गर्ने... जनतालाई वेवकुफ बनाउने...सोझा सिधा युवालाई माओवादीले जस्तै भ्रममा पार्ने... आदि इत्यादी’ प्रश्न गर्दै मेरा साथीले भन्न सुरु गरे ।
(आखिर पत्रकार न परे, त्यसमाथी पनि उनी अरुलाई पेल्नमा माहिर मानिन्छन्, उनलाई लागेछ बेरोजगारको नाममा यो चन्द्रवहादुर भन्ने ‘प्राणी’ राजनीति गर्दैछ र दुनिया बेरोजगारलाई बेवकुफ बनाउँदै छ ।)
त्यसपछि मेरो साथीको पेलाईले चन्द्रवहादुर भने हच्किन सुरु गरे। उनलाई गारहो भएछ क्यारे, उनले असहज माने जस्तो गरेको जिऊ तन्काए । मेरो साथीले चन्द्रवहादुरको ‘बडी ल्याङवेज’ बुझे र झन पेल्ने दाउ गरे ।
(मेरो साथीलाई लाग्यो, आज यस बेरोजगार अध्यक्षलाई पेलेरै जान्छु, यसको न्युज चाँही मरिकाट्टे नै हाल्दिन किनकी यसले अरुलाई वेवकुफ बनाउन खोजिरहेको छ, कार्यालय र ढोकामा बेला बेलामा देखा पर्ने मसलेदार केटा देख्दा कता कता उनलाई अझ यो अध्यक्ष भन्ने मान्छे कुनै जमनामा माओवादीमा थियो र अहिले त्यहाँवाट कुनै उपलब्धि नभए पछि निराश भएर बेरोजगार संगठन बनाएर राजनीति गर्न खोजिरहेछ भन्ने लागेछ)
‘निश्चितरुपमा, हामी माओवादी जस्तो भ्रम दिने ब्यक्ति होइनौ, त्यसैले त यो संगठन बनाएका हौं, ‘अरुका लागि लडयौ पटक पटक, आफ्ना लागि लडौं एक पटक’ भन्ने नारा त्यही भएर बनाएका हौं, हामी कुनै राजनीतिक दलसँग आवद्ध छैनौं... आदी इत्यादी’ अध्यक्ष थापाले मुटुमाथी ढुंगा राखी उत्तर दिए ।
(तर चन्द्रवहादुरले भने आफु माओवादी नेता भएको यो बेलासम्म स्विकार गरेनन, खै किन ? स्विकार गरेनन, त्यो उनले नै जानुन् )
मेरा साथी बुरुक्क उफ्रे र भने, ‘तर तपाईको बोली र हात हल्लाई त पुरै प्रचण्डको पारा जस्तो छ, तपाई पक्कै पनि कुनै जमनामा माओवादी नेता हुनु पर्छ’ मेरो साथीले चन्द्रवहादुरसँग दावी गरे । मेरो साथी बेरोजगार चन्द्रवहादुरलाई पेल्दै जान्थे, ढोकामा अध्यक्ष केटाहरु भने आमान्त्रित पत्रकारलाई घुरेर हेर्थे, त्यो पनि खाउँला झै गरी  ।
(बेरोजगारका अध्यक्षलाई धेरै पेल्यो भने कुटलान भन्ने मेरा साथीलाई कता कता डर पनि लागेछ्, त्यसपछि उनले अलि असहज मान्दै कुरा मोड्न सुरु गरे ।)
‘तपाईले यसरी माओवादी पारामा संगठन बनाएर, बेरोजगारलाई भेला गरेर, नारावाजी, जुलुस गरेर, मशाल देखाएर, भित्तो पोतेर बेरोजगारको पक्षमा लडने र लडाउने होइन,’ मेरा साथीले अर्ति दिन सुरु गरे (हुन त उ आफैमा बढी अर्ति दिने मान्छे हो), ‘तपाईले सबै बेरोजगारलाई कुखुरा पालन गर्न लगाउनुहोस्, बुङ्गुरपालन, खसी पालन, कृषी फर्म खोल्न लगाउनुहोस, स्वरोजगार कोषवाट बिना धितोको ऋण पाइन्छ, माओवादीले त्यसै लुटेर खाइरहेका छन, त्यहाँ बेरोजगारलाई लैजानुहोस् ।’ बेरोजगारका अध्यक्षले मेरा साथीका कुरा सुनि मात्र रहे तर एक शब्द केही बोलेनन ।
(त्यसपछि मेरा साथीलाई बेरोजगार अध्यक्ष चन्द्रवहादुरले ध्यानपुर्वक सुनेछन भन्ने लागेछ, आफ्नो कुरामा "गम" खायो भन्ने भए पछि झन उत्साहित हुदैँ "ननस्टप" अर्ति दिइरहे तर बिचरा मेरो साथीलाई के थाहा कि अध्यक्ष चन्द्रबहादुर भित्र भित्रै मुरमुरिएर बसेका छन भन्ने !)
‘माओवादीले स्वरोजगार कोषको पैसा खाइरहेको छ, त्यहाँ तपाईहरु पनि हस्तक्षेप गर्नुहोस, बिना धितो पाउने ऋण बेरोजगारका लागि उपलब्ध गराई दिनुहोस् अनि पो तपाई नेता ?’ मेरा साथीले अर्ति दिदै गए, अध्यक्षले सुन्दै गए, ‘माओवादीको झै पारा गरयो, बेरोजगारको नाममा राजनीति गरयो, जनतालाई झुक्याउने काम गरयो, यो पाराले चल्दैन अध्यक्षज्यू, मैले भनेको सल्लाहलाई लागु गर्नुहोस, तपाईलाई सबैले मान्छन्, वाह वाह पनि गर्छन, म तपाईको पक्षमा मिडिया "क्याम्पेनिङ" नै गर्छु तर तपाईले यो माओवादी पारा चाँही छोडनु पर्छ ।’ तर पनि बेरोजगार अध्यक्षले केही पनि बोलेनन्, ‘ध्यानपुवर्क’ सुनि मात्र रहे ।
‘हेर्नुहोस, माओवादीले सारा बेरोजगार युवालाई जम्मा ग¥यो, लडाकु बनायो, पछि निस्कने बेला तीन कै चेक खोस्यो र रुवाउँदै पठायो, त्यति मात्रै कहाँ हो र ? काम गर्ने जवानीलाई युद्ध र शिविरमा लगेर थन्कायो, त्यसैले बेरोजगारको नाममा राजनीति होइन, रोजगारका लागि बातावरण बनाउनुहोस्’ साथीले अर्ति "ननस्टप" नै दिइरहे ।
‘कांग्रेसका गगन थापाले मासु पसले खोलेका छन, मदनकृष्ण र हरिवंशले कृषि फार्म चलाएका छन, माओवादीका कुन चाँही नेताले त्यस्तो काम गरेका छन ? अहिले जे गरिरहनु भएको छ, यो पारा पुरै माओवादीको जस्तो छ, माओवादी पारा र स्टाइल पुरै छोडनु होस्’ साथीले अर्ति दिइरहे ।
अझै पनि अध्यक्ष बोलेनन् । यस्ता कयौं अर्ति उनले बेरोजगार अध्यक्षलाई दिए, जुन आधाघन्टा भन्दा बढी ननस्टप थियो रे ! दुई घन्टा भन्दा बढी उनै बेरोजगार अध्यक्ष चन्द्रवहादुरसँग बसे र कुराकानी गरे ।
(मेरा साथीका अनुसार चन्द्रवहादुरले सो बसाईको एक भाग बोले होलान, बाँकी तीन भाग उनले मात्रै बोले रे, त्यो पनि माओवादी पारा भन्ने शब्द बारबार ओकल्दै, उनलाई लागेछ, आफ्नो अर्ति सुनेर अध्यक्षले 'गम' खाइरहेका छन र कम्तिमा त्यो कुरा लागु गराउँछन भन्ने पनि लागेछ ।)
मेरो साथी सो कार्यालयमा पस्ने बितिक्कै अध्यक्षले ‘मिल्क कफी’ अर्डर गरेका थिए तर दुई घन्टा बस्दा पनि त्यो आउँदै आएन । आश त गरेका थिए तर मुखै फोरेर मिल्क कफी खोई भनेर चाँही मागेनछन् । त्यसपछि उनी बिदावारी भएर हिडे, अध्यक्षले कुनै उत्साहजनक प्रतिक्रिया दिएनन् । न त लिनका लागि अनामनगरमा मोटरसाइकल पठाउने बेरोजगार अध्यक्षले अहिले पुरयाई दिनका लागि भने कुनै ब्यवस्था गरि दिए ?  उनलाई लागेछ, धेरै "अर्ति" दिइयो, सायद चित्त वुझाएनन होला र त जानलाई सवारी साधानको कुनै ब्यवस्था गरिदिएनन् ।
********************************************************************************

त्यहावाट निस्कने बितिक्कै मेरा साथी, काम विशेषले सुन्धारामा नागरिक दैनिकको कार्यालयमा आए । उनलाई बाटो भरी खसखस लागेछ कि ‘मैले त्यति धेरै बोले तर बेरोजगारको अध्यक्षले भने किन धेरै कुरा नै गरेनन्, सुनिरहे मात्र रहे ?’ यो प्रश्न उनको मनमा निकै नै खेलिरहेछ ।
त्यसमाथी, कार्यालयमा कुरा गर्दै जाँदा पनि उनलाई बेरोजगार अध्यक्ष कतै देखे–देखे जस्तो पनि लागेको रहेछ, तर जति सम्झदा पनि अध्यक्षलाई ठम्याउन भने उनले सकेनछ् । निकै नै ‘डाउड’ भए पछि उनले मलाई सोधेका थिए, आखिर यो बेरोजगार संघको अध्यक्ष को हो भनेर ? जव मैले उनलाई चन्द्रबहादुरको बारेमा चिनाई दिए । तब उनी तीन छक परे । जव बेरोजगार संघको अध्यक्षको वास्तबिकता थाहा पाए, मेरा साथी फ्लयाट खाए ।
‘अरे यार, त्यो दुई घन्टा कसरी उनले मेरा डायलग सहेर बसे होलान ?’,
साथी त भन्दै थिए, ‘उनलाई त लाग्यो होला, यसले मलाई जानी जानी पेल्यो भन्ने किनकी चन्द्रवहादुरलाई नचिन्ने त कोही पनि छैन यहाँ, त्यसमाथी पत्रकार हुँ ।’
मेरा साथीलाई भने चन्द्रवहादुरलाई ‘डायलग’ मार्दा जति गारहो भएको थिएन, पछि उनको बास्तबिकता वुझे पछि उनलाई भने निकै गा¥हो भयो । ‘तै कुटाई खाइन छु मैले, आज बचेर आएछु यार, त्यत्रो गाली गर्दा पनि’ लामो श्वाँस तान्दै उनले भने । 
Source : prakashujyalo.blogspot.com

No comments:

Post a Comment