Saturday, December 14, 2013

मण्डेला र मण्डले

...
संविधानसभा पछिको समयलाई हेर्ने हो भने पनि प्रचण्ड जीले निर्वाचनको परिधिलाई त्यो विवेकमा राख्न नसक्नु, आवेग र भावमा बोल्नुले एमाओवादीको राजनीतिक क्षेत्रफललाई अझ कमजोर बनाएको ठहर्छ ।
                                           ... 

विजयको उत्सवको अग्रपंक्तिमा उभिनु भन्दा पनि समस्याको अगाडी उभिँदा मान्छेहरुले नेतृत्वलाई स्वीकार गर्छन् । 
–नेल्सन मण्डेला 
यस्ता राजनीतिक पात्र जो इतिहाँसका शक्तिशाली व्यक्ति त भए नै इतिहाँसको दिनलाई उत्सवका रुपमा मनाउने बाहनाको यथार्थवादी पनि भएर विते । विश्वका राष्ट्रप्रमुखहरु उनको श्रद्धासुमनका लागि दक्षिण अफ्रिका पुगे, नेपालका बाहेक । तिनको जीवनबारे नेपाली पाठ्यक्रममा पनि पढ्न पाइन्छ । रंगभेद र न्यायका लागि लडेका मण्डेलाको जीवनको संघर्षको पाटो जति समय अँध्यारोमा वितेको थियो, त्यति नै समय उज्यालो दक्षिण अफ्रिका देखेर उनी विते । अर्थात्, समानताको आन्दोलन यति सरल राखे की उनले हिंसालाई साहरा लिएनन् र दक्षिण अफ्रिकाको मात्र नभई विश्वकै सर्वमान्य नेताको रुपमा स्थापित भएर विते । उनीसँग नेपालका कुनै नेतापनि तुलना गर्न मिल्दैन । र त सडकका भुइमान्छेहरु पनि भन्ने गर्छन्, कहाँ मण्डेला र कहाँका मण्डले । 
स्व. मण्डेला 
राजनीतिमा विवेकशिल निर्णय नै दिर्घकालिन बचाउको हतियार बन्न सक्छ । मण्डेलाको जीवन विवेकशिल निर्णयका कारण नै उर्जाशिल बन्न पुग्यो । इतिहाँस मर्नुभन्दा अघि नै बनाएका मण्डेला कहिलेपनि असमानताको पक्षमा देखिएनन् । काला जातिको अधिकारका लागि बोल्दा उनले शासक गोराहरुसँग संघर्ष गरे, कालाहरु अधिकारमा आएपछि पनि उनले तत्कालिन शासक गोराहरु भनेर उनीहरुलाई अवहेलना र हेयको दृष्टि राखेनन् । मण्डेलाको जीवनबाट प्रभावित हुन सक्थे, नेपाली राजनीतिक पात्र पुष्पकमल दाहाल प्रचण्ड । उनले कम संघर्ष गरेका होइनन् । १० बर्षको युद्धलाई शान्ति प्रकृयामा ल्याएर त्यसको व्यवस्थापन गर्नु कम चुनौतिको कार्य होइन । समानताको आन्दोलन उठाएर बन्दुक बोकर त्यसको व्यवस्थापन समयमा गर्नसक्नु उनको बुद्धिमता थियो । तर, उनी किन आलोचनाको पात्रमात्र बनिरहेका छन् त ? उनले समानताको आन्दोलनको अर्थ बुझेका रहेनछन् । उनले सवै जातिको अधिकारको सवाल उठाए तर शासक भनिएका जातिको अधिकारचाँही खोस्ने, हड्पने र आक्रमणबाट लिनुपर्छ भन्ने मान्यता राखे । जसका कारण उनी आलोचनाको पात्र बने । 
संविधानसभा पछिको समयलाई हेर्ने हो भने पनि प्रचण्ड जीले निर्वाचनको परिधिलाई त्यो विवेकमा राख्न नसक्नु, आवेग र भावमा बोल्नुले एमाओवादीको राजनीतिक क्षेत्रफललाई अझ कमजोर बनाएको ठहर्छ । प्रचण्डसँग अझै पनि निक्कै अवसरहरु छन् । उनी नेपाली नेल्सन मण्डेला बन्न सक्छन् । उनी राजनेताको रुपमा स्थापित हुन सक्छन् । तर, उनले पार्टीको नाममा मुलुकको भविष्यलाई अन्धकारमा पार्न हुँदैन । अहिले उनको पार्टी संविधानसभमा नजाने बताइरहेको छ । तर, संविधानसभा एमाओवादीको एजेण्डा हो भन्ने प्रमाण बनाउनका लागि उनी संविधानसभामा जानुको विकल्प छैन । प्रचण्ड अहिले मण्डेलाले भनेजस्तो समस्याहरुको अगाडी उभिन चाहिरहेका छैनन् । उनी ठूलो दल एमाओवादी बन्दा त्यसको अगाडी उभिए तर आज तेस्रो बनी समस्यामा चुलिँदा केही स–साना राजनीतिक दर्शनविहीन झुण्डहरु समेटेर संविधानसभामा नजाने तर्क गरिरहेका छन् । उनको भुमिका यी साना झुण्डहरुसँग मिलेर गर्नेभन्दा पनि शान्ति प्रकृयाको एउटा जिम्मेवार नेताको रुपमा देखिनु जरुरी ठानिन्छ । 
एमाओवादी अध्यक्ष प्रचण्ड
एउटा राजनेता बन्नका लागि दलको आकारले अर्थ राख्दैन । उसको भुमिकाले प्रभाव पार्दछ । एउटा व्यक्ति नै मुलुकको भविष्य द्रष्टा बन्न सक्छ, विश्वमा कयन यस्ता उदाहरणहरु छन् । दलको आकार के हो ? उसको संसदीय क्षेत्रफल कति छ ? कति परिणाममा उसले संसद जितेको छ भन्दा पनि उसको मुद्दा के हो ? उसले उठाएको र गरेको बलिदान के हो ? भन्नेसँग अर्थ राख्दछ । 
यसर्थ, प्रचण्डले अवको दिनमा आफु एमाओवादीको नेतामात्र भन्दापनि मुलुकको नेता बन्नका लागि मण्डेला पथलाई स्वीकार गरेतनन् र मण्डलेपथमा लागि परेभने फेरि पनि सतहमा उनको आलोचनामात्र हुनेछ । उनी सिटको परिणामको राजनीतिमा उत्रिएर जनमतको विपक्षमा लागे भने अर्को पटक जनताले उनको आकारलाई झन खुम्च्याउने छन् र पार्टीलाई इतिहाँसमात्र बनाइदिनेछन् । जसले उनले ल्याएको द्वन्द्व र त्यसले गरेको राजनीतिक परिणामलाई पनि इतिहाँसको स्वार्थ र आधारहिन लडाइका रुपमा चित्रित गर्नेछ ।   

No comments:

Post a Comment