Wednesday, December 18, 2013

दामिनी नसम्झिने कोही भएनन्, हिंसाविरुद्ध नबोल्ने कम छैनन्

प्रत्येक शिक्षित नागरिक केही न केही हिंसाशुन्यको पक्षमा उभिन्छ । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको पनि जोड थियो, शिक्षामा । उनले शिक्षा फरक विभेदहरुको अन्त्य गर्ने सकारात्मक हतियारका रुपमा व्याख्या गरेका थिए 

मुलुकभित्रको स्वतन्त्रता र अधिकारको सवाल त्यतिबेलामात्र पुरा हुनेछ जतिबेला प्रत्येक घरहरु शिक्षित समाजका सहभागी हुनेछन् । बौद्धिक समाजको प्रतिनिधित्व गर्नेछन् र अरुका लागि उदाहरण बन्नेछन् । प्रत्येक घरमा कानुनको व्यवाहारिक र इमान्दारीताका साथ पालना हुनेछ अनि मानिसहरु राष्ट्र, समाज र घरप्रति बढि उत्तरदायी देखिनेछन् । हुन त विश्वसमुदायमा समानताको अभ्यास अहिलेपनि जारी छ । चाहे पूर्ण विकसीत राष्ट्रका अपवादका घटनाहरु हुन् अथवा विकासको गतिमा दौडिएका राज्यहरुमा देखिएका घटनाका सान्दर्भिकता होस् । त्यसमाथि नेपाल अल्पविकसीत राष्ट्र भएकाले पनि नेपाली समाजका समस्या, तिनको निराकरणको पाटो र मुद्दा त अथाह छन् । 
महिलाहिंसाविरुद्धको १६ दिने अभियान । जुन नेपालमा पनि भव्यताका साथ मनाउने गरिन्छ । भर्खरै, सकिएको छ । यद्यपि, अभियानहरु अनेक रुपमा चलिरहन्छन्, मुद्दामाथिको बहस जारी नै देखिन्छ । नेपाली सन्दर्भ अघि छिमेकी राष्ट्र भारत र पाकिस्तानका दुई घटनालाई स्मरणका लागि राख्नु उपयुक्त ठहर्छ ।
दामिनी र मलाला । दामिनीले त्यस वर्र्ष सँगै यस संसारबाट बिदा लिइन् । सन् २०१२ को अन्तिम साता भारतीय राजधानी नयाँ दिल्लीमा उनको अन्तिम संस्कार गरिरहँदा मानौ कि विश्व नै स्तब्ध भयो । छ जना भारतीयले बलात्कार गरी हत्या गरिएकी एक बालिकाको यो घटनाले लज्जित नै बनायो ।
दिल्लीको एक मेडिकल कलेजकी २३ वर्षिया छात्रा दामिनी गत डिसेम्बर १६ मा नयाँ दिल्लीको एक सार्वजनिक बसमा सामुहिक बलात्कार गरेका थिए । आफ्ना केटा साथीसँग हिडिरहेकी उनलाई बसका चालकसहित सो बसमा रहेका ६ जनाले बलात्कार गरे । यो घटनाले विश्वकै ध्यान तान्यो । आधुनिक समाजकै एक पाशविक एवम् असभ्य व्यवहारको पर्याय बनेको यो घटना विश्वमानचित्रमा नै एउटा दरिलो उपस्थिति जनाइसकेको भारतका लागि यो ठूलो लज्जाको विषय बन्यो । आधुनिक सभ्यताको वकालत गरिरहेका करोडौैं भारतीय नागरिकको शिर सरमले निहुरियो । एक छात्रालाई ६÷६ जनाले बलात्कार गरेर हत्या गर्ने जस्तो घटना सुन्नै नसकिने जघन्य अपराध थियो । यस घटनाले भारतमा हुने गरेका निरन्तरका बलात्कारका घटनालाई पनि सार्वजनिक गरिदियो । कतिपय प्रमुख भारतीय दैनिकमा बलात्कारका अपराधको समाचार बन्नै छाडेको थियो । दिनहँु घटना हुन्थे, सधैँ समाचार बनाउन सम्भव थिएन । 
अर्को यस्तै लज्जाजनक घटना भयो दक्षिण एसियाली राष्ट्र पाकिस्तानको पेसावर सहरमा । 
संयुक्त राष्ट्र सङघ तथा विश्वका अन्य सम्पन्न राष्ट्रले बालबालिकालाई शिक्षाको अधिकारका क्षेत्रमा खर्बौ लगानी गरिरहेका छन् तर पूर्णरुपमा सफलता पाउन सकिरहेका छैनन् । यी ज्ञानी बालिकाले भने पाकिस्तान र अफगानिस्तानका लाखांैलाख बालबालिकाका पक्षमा नौ वर्र्षको उमेरदेखि नै सङघर्र्ष थालेकी हुन् ।
पाकिस्तानका कट्टरपन्थी मुस्लिमहरु जो नारी स्वतन्त्रता भन्ने शब्द सुन्न सक्दैनन्, उनले नै ती बालिकालाई गोली हाने । हप्ता दिनसम्म उनको पाकिस्तानमा नै उपचार हुँदा निको नभएपछि पाकिस्तान सरकारले नै बेलायतको एक सुविधासम्पन्न अस्पतालमा उपचार गरेको थियो । अक्टोबर ९ मा मलाला दिवस मनाइन थाल्यो ।
यी दुई घटनाहरु विल्कुल फरक प्रकृतिका थिए तर दुवैको समान कारण भने एउटै नै देखिन्छ, महिलाविरुद्धको हिंसा । चाहे व्यक्तिगत र जीउधनको सुरक्षाको विषय होस् अथवा शिक्षाको अभियानको लागि होस्, महिला अधिकारको पक्षमा बोल्दा हुने जुनसुकै प्रकारको हिंसालाई सहन सकिन्न । विश्वसमुदायमा महिला अधिकारको सवाल उठिरहँदा एउटा ठूलो जनसंख्याको रुपमा रहेको महिलालाई हेपाहा प्रवित्तिको अवस्थामा राख्न सकिँदैन । यी छिमेकी मुलुकहरुमा चर्चा पाएका महिलासम्बन्धि उदाहरण थिए । भारत र पाकिस्तानको तुलनामा नेपालमा महिला अधिकारका पक्षमा कानुनी धारणाहरु बलिया छन् । सहभागीता ती मुलुकहरुको भन्दा पनि निक्कै माथि छ । यद्यपि, महिला ंिहसामा कमि छैन । राजधानी वरपर नै महिलाहिंसाका ठूला घटनाहरु भइरहेका छन् ।
बोक्सी भन्दै कुटपिट गर्ने तीन जनाविरुद्ध शुक्रबार जिल्ला प्रहरी कार्यालय धादिङमा मुद्दा दर्ता भयो । सुनौलाबजार गाविस–४ भोर्लेकी ३३ वर्षीया चनमती मगरातीलाई बोक्सीकोे आरोपमा कुटपिट गर्ने स्थानीय ४० वर्षीया सुन्तली मगराती, २४ वर्षीया सीता मगराती र ४५ वर्षीय रूपबहादुर मगरातीविरुद्ध बोक्सीको आरोप लगाएर कुटपिट गरेको विषयमा मुद्दा दर्ता भएको हो । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । मुद्दा दर्ता भएपछि उपचार गराउन र उजुरी दिन सदरमुकाम आएका चनमती र झगडा छुट्याउन जाँदा घाइते भएकी पम्फा मगराती गाउँ फर्केका छन् । उनीहरु गाउँमा आत्मसम्मानका साथ बस्ने अपेक्षा लिएर फर्केका छन् । पीडित गाउँ फर्किएका छन् यो हर्षको विषय हो । पीडकले सजाय पाउनेछन् यो पनि कानुनको प्रयोग हुनेछ । राजधानीसँग जोडिएको जिल्लाको यो घटना, यसपछि भएका घटनाक्रमले आम महिलाविरुद्ध हुने हिंसामा कमि आउला ? एउटा प्रश्नचाँही सँधैभरी नेपालीजनका लागि कायम रहने अवस्था देखिएको छ । 
महिलाविरुद्ध हुने हिंसाको १६ दिने अभियान अघिल्लो वर्ष पनि भएको थियो । सायद आगामी वर्षपनि हुनेछ । यद्यपि, घटनाक्रमहरु जारी देखिएका छन्, न्युनिकरणका पाटोमा कहीँकतै कमजोरी भएको महसुस हुन थालेको छ । धादिङको घटना एउटा उदाहरणमात्र हो । यस्ता घटनाहरु वर्षभरी निक्कै ठाउँमा भएका छन् । आखिर किन भइरहेका छन् महिलाविरुद्धको हिंसा ? किन न्युनिकरण हुन सकेका छैनन् ? कसरी न्युनिकरण गर्ने ? कानुनी प्रावधानको प्रयोगलेमात्र न्युनिकरण हुने हो की अन्य उपायहरु यसका लागि प्रभावकारी बन्नेछन् ? समग्र पाटोको गम्भिर बहसचाँही अवको समाजमा हुनुपर्दछ ।  
अधिकार र न्यायका कुरा काठमाडौंको चारघेराभित्र सीमित त रहने हैन ? महिला हिंसाविरुद्धको अभियान होस अथवा महिला अधिकारका सवाल ती कार्यक्रममा मात्र सीमित भइरहेको छ की प्रभावकारी पनि छन् ? नेपाली समाज महिलाविरुद्धको हिंसा भएपछि कानुनी उपचारको खोजी हुनुपर्छ भन्ने अभियानमा जुटेको छ की नागरिक चेतनाको विकास गरी महिलाविरुद्धको हिंसा निमिट्यान्न बनाउनुपर्छ भन्ने अभियानमा छ ? र, हुनुपर्ने के चाँही हो ? नेपाल जस्तो मुलुकमा हुने महिलाविरुद्धका हिंसाका प्रकृति फरक छन् । भौगोलिक र भाषिक तथा सांस्कृतिक रुपमा विविधता भएको मुलुकमा हिंसाका प्रकृतिमा पनि फरकपना निश्चय नै छन् । सवैको समाधान कानुनको सीमालेमात्र पुरा हुन सक्तैन । तर, यी हिंसाहरुको न्युनिकरण निश्चय नै छ । सवैलाई साझा विषयलेमात्र समाधान दिनसक्छ । र, त्यो हो शिक्षा । मतभेद, रंगभेद अथवा जातिय भेद, लिंगभेद सवैको न्युनिकरणका लागि शिक्षा अनिवार्य हुन्छ । प्रत्येक शिक्षित नागरिक केही न केही हिंसाशुन्यको पक्षमा उभिन्छ । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको पनि जोड थियो, शिक्षामा । उनले शिक्षा फरक विभेदहरुको अन्त्य गर्ने सकारात्मक हतियारका रुपमा व्याख्या गरेका थिए । जव नागरिकहरु सवै हिसावले शिक्षित हुन्छन्, विभेदको अन्त्य हुनेछ । त्यहाँ हिंसा कम र भातृत्व ज्यादा हुनेछ । त्यहाँ समानताको नयाँ प्रारुप खडा हुनेछ । प्रतिशोध भन्दा पनि सकारात्मक समाजको खोजी हुनेछ । मण्डेलाले भनेजस्तै नेपाली समाजको हरेक क्षेत्रमा शिक्षाको राम्रो पहुँच बनाउने हो भने पक्कैपनि महिलाहिंसा न्युनिकरण हुनेछ । किनभने त्यसको एक उदाहरण पाकिस्तानकी बालिका शिक्षाकी अधिकारकर्मी मलाला त हुन् नै नेपाली समाजमा पनि राम्रो भुमिका देखाई हिंसाविरुद्धको अभियानमा सिएनएन हिरो बनेका अनुराधा कोइराला र पुष्पा बस्नेत पनि हुन् । यसर्थ, हिंसा न्युनिकरणका लागि समाज शिक्षित हुन जरुरी छ । 

No comments:

Post a Comment