Saturday, December 21, 2013

पुतलीपेटी र उनी अर्थात् शेली

स्याउलाई जाली कपडाले लगाएको दृश्य फलफूले व्यापारीकहाँ सामान्य लाग्ने गर्दथ्यो । त्यसको कुनै अर्थ हुदैन भन्ने लाग्थ्यो । त्यो पुतलीसडकको पेटी थियो, जसलाई म ‘पुतलीपेटी’ भन्दछु, जहाँ मेरा रोजका पैदलयात्राहरु निरन्तर चलिरहन्छन् । पुतलीपेटीमा झण्डै यस्ता तीन पसल छन्, मेरो रोजको निश्चित गन्तव्यको सीमासम्म । आज त्यस्तै, जालीदार स्याउको बारेमा मनोसंवादमा रुमल्लिँदै, यात्रा अघि बढेको छ । पुतलीपेटी छिर्नै लागेको थिएँ, त्यहि रोजको स्याउपसल नजिकबाट एक युवती स्याउलाई घेरेझैं पहिरनमा मलाई ओभरट्याक गरी अगाडी लागिन् । मेरो ध्यान विकेन्द्रित भयो, रोजभन्दा । मनोसंवादको क्रमभंग भयो, गतिशिलताको फरकमा दौडन थाल्यो स्वयम्संवाद पनि । 
जालीदार कपडा, पुसको जाडो । सुन्दर युवती, मलाई लागेको । सुन्दरताको सुरुआत र अन्त्यको वयानका लागि सीमा निर्धारण गर्नसक्ने अवस्थामा छैन म । अनि, उनको पहिचानका बारेमा सोच्ने कत्तिपनि फुर्सद भएन । उनी अगाडी अगाडी अनि म कहिले पछाडी र कहिले समान रुपमा पैदलयात्राको मजामा छु । यस्तो मजा जसको मैले वयान गर्नका लागि शव्दहरु खोज्नैपर्ने हुन्छ । उनी पहिचान नभएकी युवती, मेरा अघि । म, पहिचान नभएको युवक, जालीदारका लागि । ‘हिजो महिलालाई नकारात्मक दृष्टिले हेर्नेहरु हिंसाका पीडक हुन् भन्ने परिभाषा सुनेको थिएँ,’मनोसंवाद हुन्छ,‘यो त प्रेमिल नजरको विश्लेषण कहाँ भयो र हिंसा ? उनी पनि त अगाडी अगाडी मुसुक्क मुस्कान छरेर मलाई दृष्टिपानका लागि अपिल गरिरहेकी छन् ।’ सायद उनको सहमति थियो त्यसैले यो कुनै हिंसा होइन । न्युप्लाजाको मोडमा ट्राफिक गाडीलाई रोकिरहेको छ, सायद बाटो काटिदैछ । उनी त्यतै पो लाग्ने हुन् की ? मनभित्र अर्को चिन्ता छ । कति सय पाइला नाघिसकें, थाहा छैन । अक्सर म गन्तव्यसम्म पुग्दा पाइलाहरु गन्ने गर्दछु । ठ्याक्कै तीन हजार चार सय पाइला एक पटक मैले गन्तव्यक्षेत्रसम्म पुग्दा गनेको छु, कार्यालयको पाँचौ तल्लामा उक्लिँदा पर्ने ६० सिढि बाहेक । उनले बाटो काटिनन्, ट्राफिकले सवारी रोक्नुको अर्थ पनि देखिन मैले । ‘गोलो चेहरा, सानो आँखी भौं, चिटिक्क शरिर, मिलेका कपडा, ठूला जुत्ता, गालामा मन्द लाली, तेज आँखा’– जव समान पुग्छु, उनीतिर चिहाएर यत्तिचाँही पत्ता लगाइरहेको छु । पाइला सरीरहेका छन्, शंरदेव मोड आउँछ । म त्यसमोडभन्दा सय मिटर अझै पर पुग्नु नै छ, उनी गल्लितिर छिर्छिन्..मेरो मनोसंवादको एउटा सृंखला त्यहि विश्राम लिन्छ । कुनै परि केही समयका लागि झरिन् र अलप भइन त्यो मोडसँगै । सायद त्यहाँ कुनै मोड नभएको भए उनी पुग्ने गन्तव्य मेरो नजिक हुने थियो र म अझै त्यो संवेदनाको शाव्दिक रसमा केहीबेर भिज्न पाउने थिएँ । 
उनी को हुन् ? कहाँबाट आइन् ? किन केहीबरेका लागि आइन ? र किन हराइन् ? उनको आगमनमा मैले मेरो उनलाई किन विर्सिएँ । मेरो पात्रलाई किन विर्सिएँ । आखिर मैले मेरो कथाको गन्तव्य उनको अधरसम्म र मेरो परेलीसम्म पु¥याउन छ । आज शुक्रबार हो, मैले दिनुछ मेरो पात्रसँगको संवादका हरफहरु, त्यो पत्रिकाको कार्यालयमा । अनि, धेरै हप्तापछि कोरेको त्यो शव्दरेखाको चित्रमा मेरो उनको नाम पनि सार्वजनिक गर्नुछ । कति इमेलहरु आए, पात्र खोल पात्र खोल भन्ने । उनको चासोलाई पनि यहाँनेर पुरा गर्नुछ । कालान्तरसम्म यो अनुभवले कुन मोडमा विश्राम लिन्छ होला ? अघिको मोडमा सिद्धिएको एउटा सृंखलाजस्तो थाहा छैन । तर, आज म मेरो उनलाई सार्वजनिक गराउँछु, मेरो अक्षरमा तर आधा । अर्थात्, नाममात्र । त्यहाँ पुरानाम हुनेछैन । यतिवेलासम्म म करिव करिव गन्तव्य नजिक आइपुगेको छु । अव म पुतलीपेटीको मुख्य चोकमा छु । 
००० 
मेरो पात्र आज खुल्दैछ । त्यो पात्र जसले अघिल्ला संस्करणमा सर्वनाममा लुक्नु परेका थियो । मेरो इन्टरनेटपात्र जोसँग निरन्तर साइबर लभका नौ वटा सृङ्खलामा म सर्वनामको उल्झनमा अलमलिइरहेको छु । उनी अर्थात्, शेली । शेली यो नयाँ नाम होइन यद्यपि यो जीवनको फरक नाम हो, जुन मेरो प्रेमको गतिको मापक पनि हो । 
च्याटवक्सका कुराभन्दा आज बाहिरी संसारको फरक स्वाद निक्कै चाखपूर्ण थियो । यतिधेरै चाखलाग्दो कि म आज च्याटबक्समा उनीसँय यो सन्दर्भमा कुरा गर्न सकिरहेको छैन । मलाई डर छ, मेरो इन्टरनेट संसारमा कुनै युवतीको प्रशंशा गर्नु छ भने उनको छ । रिसलाई वेकावु हुन नदिनु छ, कसैको भने शेलीको मात्र, बस शेलीको । 
मनभित्रका अनेक अपेक्षाहरुको तुलना समान हुन सक्तैन, जुन उनलाई पनि थाहा छ र मलाई पनि । ‘तर तुलना गर्नुपर्छ, अपेक्षाहरुको बहस हुनुपर्छ, यसले संवेदनाको वेगलाई निरन्तर छचल्क्याउने र त्यसको गतिको बारेमा जानकारी दिने काम गर्छ ।’ उनले भनिन् ।
युद्ध र प्रेम समान हुन भन्ने कुरा कसले गरेको थियो ? युद्ध र प्रेम समान होइनन् । युद्ध जसले विध्वसं र विभाजको विउ रोप्छ, प्रेम जसले जीवनको विउ रोप्छ । प्रेम जसले मिलनको अनुभवहरु गर्छ, सहभागीता र संवेदनाको एकतामाथि विगुल छर्छ । त्यसकारण तिमी मसँग जति युद्धको उद्घोष गर, म प्रेमको विगुल फुक्छु । म, त्यो युद्धमा प्रेमका लागि संखघोष गर्छु तर त्यो महाभारतको कुरुक्षेत्रको होइन, प्रेमक्षेत्रको हुनेछ ।
शेली मलाई सदैव नकारात्मक पात्रका रुपमा लिन्छिन् । उनको परिभाषा पनि त्यहि हुन्छ । अनि त म कहिलेकाँही संजय दत्तको खलनायक भन्ने फिल्म हेर्न उनलाई उत्प्रेरित गर्छु । किनभने एउटा नकारात्मक मानिसको फरक कथा त्यसमा प्रस्तुत गरिएको थियो । आज चियापसलमा साथीहरुसँगको भेट गतिलोसँग भयो । अक्सर त्यो चियापसल जहाँ अनेक विषयमा चर्चा हुन्छ । अनि, मेरो कार्यालयमा साथीहरुले गरेजस्तो साइबर लभको चर्चा त्यहाँ पनि हुन्छ, भिन्न ढंगबाट । ‘यस्तो चर्चा छ, तिम्रो र मेरो बारेमा तिम्रो केही भन्नु छ ?’, उनी जवाफ कोर्छिन्,‘आफ्नो बारेमा किन कुरा गर्नु ? केही कुरा पनि गर्न नहुने मान्छे ।’
धन्न अन्य जनावरको नाम उनले लिइनन् । यो मेरो मुलुकमा नराम्रो मानिन्छ, तर उनी बस्ने ठाउँमा जनावरको पनि उत्तिकै अधिकार हुन्छ । त्यसैले सायद उनले अर्को प्राणीको नाम नलिएकी होला । ‘मान्छेहरु अचेल निक्कै परिवर्तन भएका छन् । फरक भइसकेका छन् । त्यसको कारण पनि पत्तो लाइयो ।’ मैले उनको च्याटबक्समा खसाले यो सेन्टेन्स् । खै के भयो उनलाई उनी बेकावु भएर सोध्न थालिन्,‘के हो ? भन्नुपर्छ ।’ म भन्न सकिरहेको छैन । म भन्न चहान्न । किनकी म लेख्न चहान्छु । र, लेखिरहन्छु..अहिलेसम्म लेखिरहेजस्तो । 









No comments:

Post a Comment